संविधानसभाको संरचना कस्तो हुनु पर्छ? -५ - दलितहरु बारे
संविधानसभाको संरचना कस्तो हुनु पर्छ? -५ (Source: INSN.org)
- महेश्वर श्रेष्ठ
दलितहरु बारे
संविधानसभामा प्रतिनिधित्व गर्ने सवालमा ३० लाखभन्दा बढी संख्यामा रहेका दलितहरुको प्रतिनिधित्व बारे नसोचिएमा ठूलो भूल हुनेछ । दलितहरु पनि पहाडिया र तर्राईवासी गरी दुई थरी छन् । पहाडिया दलितहरुको जनसंख्या १६१५५३७ छ भने तर्राईवासी दलितहरुको संख्या १४०५८४९ छ । यी दलितहरुमा पनि कतिपय जातजातिहरु छन् । पहाडिया दलितहरुमा कामी, दमाई, सार्की, गाइने र बादी जातका छन् । उनीहरुको जनसंख्या क्रमसः ८९५९५४, ३९०३०५, ३१८९८९, ५८८७ र ४४४२ छ । तर्राईका दलितहरुमा पनि १७ जात पाइएको छ जसमध्ये चमार (हरिजन, राम)-२६९६६१, मुसहर-१७२४३४, दुसाध (पासवान)-१५८५२५, धोबी-७३४१३, खत्वे-७४९७२, तात्मा- ७६५१२, सतार (संथाल)-४२६९८, झाँगड (धाँगड)-४१७६४, बाँतर-३५८३९, कहार-३४५३१, माली-११३९०, डोम-८९३१, हलखोर-३६२१, पत्थरकट्टा (कुशवाडिया)-५२२, राज्यले दलित भनी परिभाष्ति नभएका अन्य सम्भावित दलितहरुमा सोनार-१४५०८८, लोहार-८२६३७ र जात नखुलेका अन्य दलितहरु १७३४०१ संख्यामा पाइएका छन् । (यी जातजातिहरुलाई दलित भन्ने परिभाषा श्री हीरा विश्वकर्माको ‘दलितहरु को हुन र उनीहरुको पहिचान के हो’ शीर्षक कार्यपत्रबाट साभार गरिएको हो ।)
जातिय, भाषिक, साँस्कृतिक एवं भोगोलिक भिन्नताका कारण पहाड र तर्राईका दलितहरु बीचको सहकार्य तत्काल सम्भव देखिन्न । तर्सथ उनीहरुले स्पष्ट रुपमा पहाडे र तर्राई दलितको रुपमा अलग अलग सहकार्य गर्दा नै उचित हुने देखिन्छ । पहाडे दलितमा कामी, दमाई र सार्कीहरुले आआफ्नो प्रतिनिधि उठाउन सक्ने संख्यामा छन् । तर गाइने र बादीको संख्या अति कम भएकोले कामी, दमाई र सार्की मध्ये भावनात्मक रुपले नजिक जातका दलितसंग सहकार्य गर्दा बेस हुन्छ । तर्राईका दलितहरुमा कोही छूत जातजातिका छन्, कोही अछूत जातजातिका छन् । हुन त छुवाछूतको कुप्रथालाई कानूनत ४२ वर्षअघि नै अन्त्य गरिसकिएको हो र हालै मात्र पनि नेपाललाई छूवाछूत रहित मुलुक घोषणा गरिएको छ । तर कानून बनाउँदैमा वा घोषणा गर्दैमा व्यवहारमा यो कुप्रथा एकै पटक उन्मूलन हुने होइन । यसलाई त दर्ीघकालीन साँस्कृतिक क्रान्तिले मात्र समाधान गर्न सक्छ । छुवाछूतको सवालमा तर्राईवासीहरु अझ बढी कट्टर देखिएको सर्न्दर्भमा तर्राईका दलितहरुले पनि छूत र अछूत समूह बनाई सहकार्य गरेमा बढीया हुने देखिन्छ । आफै संगठित हुन नसकिरहेका तर्राईका यी दलितहरुलाई गोलबन्द गरी सहकार्य गर्ने गराउने काम भने एउटा कठीन चुनौति नै हो । यसका लागि सम्बन्धित दलितहरु बीच सिघ्रातिशिघ्र सर्म्पर्क, सम्बन्ध, अन्तरकृया, समझदारी को गृहकार्य हुनु जरुरी छ ।