एसएलसी उत्तीर्ण दलितलाई जिल्ला अभिनन्दन
एसएलसी उत्तीर्ण दलितलाई जिल्ला अभिनन्दन
27th July 2006
गुल्मी, साउन १० - दौरासुरुवाल र ढाका टोपीमा सजिएका २४ जना दर्जी पञ्चेबाजा बजाउँदै अघि-अघि लागे । पछि-पछि थिए- पाँच/छ सय स्कुले विद्यार्थी । धेरैअनुमान रह्यो- कुनै विजयोत्सव । तर तम्घासवासी धेरैलाई छक्क पार्ने लस्कर थियो- एसएलसी पास भएका जिल्लाका ५९ दलित विद्यार्थीको सम्मान । उनीहरूको हौसला बढाउन नेपाल उत्पीडित जातीय मुक्ति समाजले बुधबार सम्मान गर्दै बजार परिक्रमा गरेको हो । ‘दलित विद्यार्थीमा पढ्ने प्रेरणा जगाउन यसो गरेका हौं,’ समाजका अध्यक्ष कृष्ण विश्वकर्माले भने ।
बजारवासीले सडकमै आएर ती विद्यार्थीलाई अबिर दली फूलगुच्छा दिएर सम्मान गरेका थिए । र्यालीले दुई किमि लामो बजार क्षेत्र परिक्रमा गरको थियो ।
सम्मानित विद्यार्थी निकै हषिर्त देखिन्थे । ‘०६० सालमा दाइले एसएलसी उत्तीर्ण गरेपछि सम्मान पाएको देखेपछि ममा पनि ईष्र्या र मोह जाग्यो । र, मेहनत गर्दा आज आफू पनि सम्मान हुन पाएँ,’ छात्राका तर्फबाट तेस्रो स्थान ल्याएकी पवित्रा सुनारले भनिन् ।
समाजले अघिल्ला वर्षमा पनि एसएलसी पास हुने दलितलाईर् सम्मान गर्दै आएको थियो । ‘दाइलाई अबिर लगाएर धेरैले बधाइ दिएपछि ममा एउटा सपना जागेको थियो,’ उनले भनिन्- ‘आज त्यो सपना पूरा भएको छ, निकै खुसी
छु ।’ उनले सिद्धबाबा उच्च माविमा पढेकी थिइन् । दलित छात्रातर्फ प्रथम हुने विमान परियार र द्वितीय हुने सरस्वती सुनार भने गाउँ टाढा भएकाले उपस्थित हुन सकेनन् । परियारले दुर्गम गाउँको जनबोध उच्च माविमा पढेकी थिइन् भने सुनारले सदरमुकाम नजिकैको मालिका उच्च मावि सिमलटारीमा पढेकी थिइन् ।
त्यस्तै छात्रबाट यसपालि सुरजकुमार चुदार जिल्ला प्रथम बन्न पुगे । उनले ७० दशमलव ८८ प्रतिशत ल्याएका छन् । अघिल्ला वर्षमा हुने गरेका सम्मान कार्यक्रमबाट प्रभावित भएकै कारण यो सफलता हासिल गरेको उनले बताए ।
‘अघिल्ला वर्षमा सम्मान गरेको देख्दा मैले पनि त्यो स्थान पाउँछु कि भनेर मेहनत गरेको थिएँ,’ उनले भने- यो सम्मानबाट म जीवनमा पहिलोपल्ट धेरै खुसी भएकोछु । हाम्रो यो सम्मानले पछिल्लो पिढीलाई पनि प्रोत्साहन मिलेको छ ।’
अघिल्ला वर्षमा उत्तीर्ण विद्यार्थी र अभिभावकलाई मात्र कार्यक्रममा सहभागी गराइँदै आएकोमा यस वर्षदेखि कक्षा ६ देखिमाथिका विद्यार्थीलाई उपस्थित गराइयो । ‘विद्यार्थीमा सम्मान पाउनका लागि पनि प्रतिस्पर्धा र मेहनत गर्ने बानी बसाल्न यसो गरेका हौं,’ समाजका अध्यक्ष कृष्णले भने- ‘पञ्चेबाजासहितको र्याली र विद्यार्थीको सहभागिताले यसको सन्देश जिल्लाभरि फैलिएको छ ।’
उत्तीर्णमध्ये ४१ छात्र र १८ छात्रा छन् । प्रथम श्रेणीमा १६, द्वितीयमा ३७ र तृतीयमा ६ जनाले पास गरेका थिए । यतिधेरै दलित एकैपटक एसएलसी उत्तीर्ण भएको जिल्लामा यो पहिलो हो । अध्ययनलाई निरन्तरता दिई डिग्रीसम्म अध्ययन गर्नेमा दलितका तर्फबाट राजेन्द्र विश्वकर्मा जिल्लाकै पहिलो हुन् । एसएलसीपछि पढाइलाई निरन्तरता दिने संख्या दलित वर्गमा अहिले पनि ज्यादै न्यून छ ।
स्रोत : www.ekantipur.com