आँखा देख्ने यी अन्धाहरु

आँखा देख्ने यी अन्धाहरु

– उदय परियार, गम। ud.parayar@gmail.com

केही हप्ताअघि प्रकाशित अन्तरजातीय विवाहसँग सम्बन्धित एउटा घटनाले धेरैको मन छोएको हुनुपर्दछ। त्यस घटनाले भौगोलिक र प्राकृतिक रुपले ज्यादै सुन्दर मानिने इलाम जिल्लाको अत्यन्तै कुरुप र क्रुर सामाजिक तस्वीर प्रस्तुत गर्दछ। लिम्बू जातका एक युवक र दमाई युवतीबीच प्रेमविवाह भएपछि घरपरिवार र समाजले अत्यन्तै कठोर र अमानवीय कदम चाले। नवदम्पत्ति घरबाट मात्रै निकालिएन, गाउँ समाजबाट समेत बहिष्कृत भयो। यतिखेर उनीहरु बजार क्षेत्रमा आई आफ्नै देशमा निर्वासित र तिरष्कृत जीवन बाँच्न बाध्य छन्। सबैभन्दा दुःखपूर्ण पक्ष त यो छ कि, ती दुवै अन्धा छन्।

२१ औं शताब्दीको सभ्यताले छोएको वा थोरै मात्र मानवीय चेतना भएको देशमा यस्तो ज्यादति भएको भए त्यसको राष्ट्रव्यापी निन्दा हुने थियो। सबै राष्ट्रिय मिडियाले त्यस घटनालाई महत्त्वका साथ प्रस्तुत गर्थे। हेडलाइन समाचार र सम्पादकीय लेख्थे पत्रपत्रिकाले। मिडियाकै दबाबका कारण पनि अत्याचारमा परेका जोडीले न्याय पाउने थिए। तर, हाम्रो देश अर्कै देश हो, जहाँ सामाजिक न्याय र अधिकार सीमित जाति र वर्गका मानिसलाई मात्र लागु हुन्छ। यहाँ प्रायः सबै जातिवादको रोगबाट ग्रस्त छन् र उनीहरुको व्यवहार मध्ययुगीन र सामन्ती छ।

तसर्थ, यति ठूलो अपराधले पनि कुनै महत्त्व पाएन। थोरै पत्रपत्रिकाले छोटकरीमा भित्री पृष्ठमा समाचार छापे। त्यसका अलावा कुनै सम्पादकीय लेखिएन, कुनै बहस र छलफल भएन– राष्ट्रिय त परै जाओस्, जिल्लास्तरमा समेत। अपाङ्ग र निमुखा दम्पत्तिको अधिकारका लागि सडक जाम गर्ने र टायर बाल्ने कोही थिएन। कसैले केही बोल्ने कष्ट गरेन। जसको अर्थ सबैलाई त्यस घटना अत्यन्तै स्वभाविक र सुपाच्य लाग्यो। विषय त्यसै सेलाएर गयो।

आँखा नदेख्ने मात्रै अन्धो हुँदैन। मानवीय भावना, विवेक र चेतना नभएका मानिस आँखा देखे पनि वास्तवमा अन्धासरह नै हुन्। त्यस दुःखदायी घटनाले स्पष्ट पारेको सत्य के हो भने यथार्थमा त्यो जोडीभन्दा बढी अन्धो त हाम्रो समाज छ, हाम्रो राष्ट्र छ। जातिवादको मोतियाबिन्दु लागेर यहाँका शासक, प्रशासक, जनता, नेता धेरैजसो अन्धा बनेका छन्। त्यो कुरो सत्य होइन भने घाम झैं छर्लङ्ग सत्य किन देख्दैनन् उनीहरु? कि, आजको युगमा पनि जातीय विभेद, अन्याय, अत्याचार र दमन कायम राख्नु भनेको समाज र देशलाई जबर्जस्ती विद्रोह, विभाजन र विखण्डनको खाडलमा पुर्‍याउनु हो? उनीहरु किन बुझ्दैनन् कि हेपिएकाहरु सदासर्वदा हेपिएरै बस्ने छैनन्, एक दिन आफ्नो अधिकार रक्षाका खातिर दिलोज्यानले लड्न थाल्नेछन्। माओवादी विद्रोह चैतको डढेलो झैं तीव्रगतिमा सल्किनुका पछाडि यस्तै जातीय विभेद र अत्याचार पनि एक मुख्य कारण थियो भन्ने सबैलाई थाहा छ। यथास्थिति कायम रहेको अवस्थामा भोलि मुलुक अझ भयानक जातीय युद्धको भूमरीमा पँ्कस्न सक्छ भन्ने कुराको ज्ञान हुँदाहुँदै यो असंवेदनशीलता र निस्त्रि्कयता किन?

यस्तो अमानवीय घटनाको निन्दा सरकार वा कुनै पनि राजनीतिक दलले गरेको सुनिएन। ती दलका दलित भातृसंगठनहरुले समेत मौनता देखाएर आफू उत्पीडित समुदायका लागि नभएर कथित उच्चजातीयहरुको निर्देशनमा पार्टीको स्वार्थका लागि मात्रै सक्रिय रहेको तथ्य व्यवहारतः प्रष्ट पारे। यो र यस्ता घटनाक्रमले के पुष्टि गर्दछ भने लोकतान्त्रिक वा गणतान्त्रिक नेपालमा जातीय भेदवभाव यथावत राखिने निश्चित छ। नयाँ नेपाल कथित तल्ला जातिका लागि उही पुरानै नेपाल सावित हुनेछ। अर्को शब्दमा, दलहरु राजतन्त्रात्मक सामन्तवाद मिल्काउन आतुर भए पनि आफूभित्र हुर्केको सामन्तवाद हटाउन तत्पर छैनन्। यो निर्णायक घडीमा यो असाध्यै नराम्रो सङ्केत हो।

अहिले जातीय अधिकारका मुद्दाहरु टड्कारो रुपमा उठेका छन्। जनजाति, मधेशीलगायतका जातिहरु, क्षेत्रगत समुदायहरु आफ्नो अधिकारका निम्ति आन्दोलित भएका छन्। तर दुर्भाग्य, ती समुदायले समेत कथित तल्ला जातिमाथिको थिचोमिचो यथावत राखेका छन्। नत्र भने, लिम्बूवान स्वायत्त प्रदेशका लागि संघर्षरत लिम्बूहरुले यी अन्धा दम्पत्तिको अधिकारका निम्ति थोरै संवेदनशीलता देखाउन किन कञ्जुस्याइँ गरेका हुन्? आफ्नो हक माग्नेले अरुको हक मिच्न पाइन्छ? आफू हेपिएको ठान्नेले आफूद्वारा हेपिएकातिर पनि हेर्नुपर्छ, त्यो उनीहरुको कर्तव्य हो। अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटा हुन् भनेर कसैलाई सम्झाइराख्नु परोइन।

वास्तवमा यो त एउटा प्रकाशमा आउन सफल घटना मात्रै हो। हरदिन कथित तल्ला जातिहरु कुनै न कुनै रुपमा हेपिने, चेपिने क्रम रोकिएको छैन। जातीय विभेदका हिसाबले तुलनात्मकरुपमा राम्रो ठानिने पूर्वको अवस्था त यो छ भने सुदूरपश्चिम नेपालमा उनीहरुको स्थिति कस्तो होला? राजधानीमा समेत जात ढाँटेर डेरा खोज्नुपर्ने स्थिति खासै सुधि्रएको छैन। यसरी शोषण र उत्पीडनमा पिल्सिइरहेकाहरुका लागि लोकतन्त्र आए पनि कुनै परिवर्तन महसूस हुन सकेको छैन। यसबाट भोलिको गणतान्त्रिक मुलुक पनि उत्पीडितका लागि कुनै नौलो नहुने देखिएको छ। अझ दुःखदायी विषय के छ भने मुलुक हाँक्ने दलहरुले यस सामाजिक क्यान्सरलाई लगभग बिर्सेका छन्। राजनीतिक स्वार्थपूर्ति र शक्तिको बाँडफाँडमा सीमित देखिन्छन् उनीहरु। यस्तो यथास्थितिवादी सोच र व्यवहारबाट उत्पीडित जनसमुदायले के अपेक्षा गर्ने?
इलामका यी नवविवाहित अन्धा जोडीले समाज र देशलाई व्यवहारिकरुपमा एउटा गतिलो सन्देश दिएका छन् कि युगअनुसार हामी सबै सीमित जातीय घेराबाट माथि उठ्न सक्नुपर्छ। उनीहरुले देखाएको बाटो के हो भने जातिहरु भिडेर होइन, मिलेर अघि बढ्नुपर्छ। अन्तरजातीय विवाह गर्न चाहनेले त्यसो गर्न पाउनुपर्छ। त्यसरी जातीय अन्तर्घुलनद्वारा जातीय विभेदरुपी सामाजिक शत्रु पछार्ने दिशामा अघि बढ्यौं भने मात्रै हाम्रो राष्ट्रिय एकता र अखण्डता मजबुत बन्नेछ। त्यसरी मात्रै देश शान्ति र प्रगतिको मार्गमा अगाडि लम्बिन सक्छ। आजको एक्काइसौं शताब्दीमा जातिपातिका आधारमा मानिसलाई मानिसको व्यवहार नगर्नु, महाअपराध र अमानवीय कार्य हो। जतिसुकै कष्ट र दुःख सहेर पनि उनीहरुले आफ्नो व्यक्तिगत स्वतन्त्रताको रक्षाका लागि लडिरहेका छन्। तिनको कार्य नेताका सैैयौं भाषणभन्दा शक्तिशाली र प्रभावशाली छ। उनीहरु भौतिक रुपमा अन्धा भए पनि चेतनास्तरमा धेरै नेपालीभन्दा माथि रहेको प्रमाण हो यो।

Also published in Jana Astha Weekly (September 26, 2007)

Posted under Perspectives / Analysis on Wednesday 26 September 2007 at 9:13 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.