दलित सभासद्हरुलाई खबरदारी

ऐतिहासिक संविधानसभाको चुनाव समग्रमा सफलताका साथ सम्पन्न भयो । चुनाव सकिएको दिनको मितिले ठ्याक्कै ४८ दिन पश्चात संविधानसभाको बैठक बस्न सक्यो । ढिलो गरी तोकिएको जेठ १५ गतेको तिथिमा पनि दिउँसो बैठक बस्न सकेन र ठूलो जनदवाबपछि रातको ९ बजे मात्रै बैठक प्ररम्भ भयो । ढिलैगरी भए पनि गणतन्त्र कार्यान्वयन गर्ने सहमतिमा बैठक बस्यो र बैठकले एक युगान्तकारी र ऐतिहासिक घोषणा गरेरै छाड्यो । यही वैशाख १५ गतेको दिनदेखि २४० वर्षपुरानो सामन्तवाद र सबै समस्याहरुको केन्द्र राजतन्त्रको अन्त्य भएको छ । नेपालको सबभन्दा उत्पीडित दलित समुदायको प्रमुख शत्रु पनि राजतन्त्र थियो । त्यसैले सम्पूर्ण दलित समुदाय गणतान्त्रिक आन्दोलनमा सरिक भएका थिए । अब नेपाल लोकतान्त्रिक गणराज्य भएको छ र दलित मुक्ति आन्दोलनले पनि एक कदम सफलता पाएको छ ।

नेपाली दलित मुक्ति आन्दोलनले यो संविधानसभाको चुनावसँगै नयाँ किर्तीमानी र इतिहास निर्माण गर्न सफल भएको छ । विगतमा भएका संसदीय चुनावहरुमा दलितहरुले प्रत्यक्ष उम्मेदवारी पाएर जितेको इतिहास एक अपवाद बाहेक छैन । २०४८ सालको आम चुनावमा बाँकेबाट नेपाली काग्रेसका कृष्णसिङ्ग परियारले चुनाव जितेका थिए । त्यो भन्दा अघि र पछि कुनै पनि दलितले राष्ट्रिय चुनावमा प्रत्यक्ष उम्मेदवारी मार्फ चुनाव जितेका थिएनन् । ब्राह्मणवादी, सामन्तवादी र रुढीवादी चिन्तनले ग्रस्त दलका नेताहरुले दलितले जित्नै सक्दैन भनी आम जनतामा भ्रम पैदा गरी चुनावमा टिकट दिदैनथे र दलितलाई सधै भोट बैंकको रुपमा मात्रै प्रयोग गर्दै आए । तर २०६४ साल चैत्र २८ गतेको संविधानसभाको चुनावले त्यो भ्रमलाई पर्ूण्ा रुपले चिरिदियो । सबै खालका भ्रम, गलत मानसिकता र गलत प्रवृत्तिहरुलाई च्यात्दै पहिलो हुनेले जित्ने प्रणालीबाट सातजना दलितका होनाहार योद्धाहरुले विजयी हासिल गरे, जसमा दुइजना दलित महिला छन् । दलित महिलाले उम्मेदवारी दिएर प्रत्यक्ष चुनाव जितेको यो नै पहिलो रेकर्ड हो । कास्की क्षेत्र नं. ४ बाट विजयी सभासद् दुर्गा वि.क. सबभन्दा कान्छी सभासद् बन्नुभएको छ । उहाँको उमेर २६ वर्षमात्र पुगेको छ । २६ वषर्ीय दलित महिलाले प्रत्यक्ष चुनाव जितेर पुरानो सोच, चिन्तन र रुढीवादी परम्परालाई ठूलो झापड दिएको छ ।

प्रत्येक्षबाट ७ र समानुपातिकबाट ४४ गरी ४९ जना दलितहरु ऐतिहासिक संविधानसभामा सभासद् बनेका छन् (मन्त्री परिषद्ले चुन्ने २६ जनाको छनौट नहुदै) । यो ६०१ सदस्यीय संविधानसभा सदस्य संख्याको सालाखाला ८.७१ प्रतिशत मात्र हो । सरकारी पुरानो तथ्यांक अनुसार नेपालको कुल जनसंख्याको १३ प्रतिशत दलितहरु छन् । दलित आन्दोलनको माग उनीहरुको अंशमा २० प्रतिशत प्रतिनिधित्व हो । दलित आन्दोलनले २० प्रतिशत सहभागिताको माग गरिरहेको अवस्थामा सरकारी तथ्यांकको १३ प्रतिशतसम्मको पनि सभासद् संख्या नपुग्नु विडम्बनाको कुरा हो । तथापि पुरानो युगबाट भर्खर नयाँ युगमा प्रवेश हुन लागेको यो संक्रमणकालिन अवस्थामा ४९ जना दलित सभासद्हरु संविधानसभामा पुग्नुलाई पनि सकारात्मक रुपमा लिन सकिन्छ ।

फेरि, हामीले बुझनै पर्ने कुरो के पनि हो भने भौतिक उपस्थितिले मात्रै पनि पुग्दैन । मुख्य कुरो त सही र दलित सवालहरुलाई ठोस रुपले अडानका साथ राख्न सक्ने व्यक्तिहरु त्यहाँ पुगे कि पुगेनन् भन्ने कुरा महत्वपूण हो । यसपटक दलित आन्दोलनबाट स्थापित तथा राष्ट्रिय राजनीतिमा खारिएका दलित हस्तीहरु दलित समुदायको प्रतिनिधित्व गर्दै संविधानसभामा पुगेका छन् । त्यसैले दलितका सवालहरु गर्मागर्मी रुपले संविधानसभामा उठ्ने छन् र नयाँ संविधान दलितहरुको हितमा लेखिने छ भन्ने पक्षमा आशाबादी हुन सकिन्छ । तर दलित समुदाय पूण रुपले ढुक्क भएर बस्नु भने गल्ती हुने छ । बाहिर रहेका सम्पूण दलित समूदायले उनीहरुलाई सडकबाट दबाबका साथ सचेत र खबरदारी गरिरहनु उत्तीकै आवश्यक छ । किन कि विगतमा दलित आन्दोलनले दलितको प्रतिनिधि बनाएर पठाएका थुप्रै नेता तथा अगुवाहरुले धोका दिएकोे उदाहरणहरु हामीसँग प्रसस्तै छन् ।

उदाहरणको लागि हामी टाढा जानु पर्दैन । दोस्रो जनआन्दोलनपछि बनेको सात दलीय गठबन्धन सरकारमा काग्रेसी मानबहादुर विश्वकर्मा दलितको प्रतिनिधित्व गर्दै राज्यमन्त्री बने । तर उनले दलितहरुको हकहितमा सिन्को पनि भाँचेनन् । त्यसै गरी दोस्रो जनआन्दोलनको सफलता पश्चात् बनेको अन्तरिम संविधान मस्यौदा दयारी समितिमा दलितको सहभागिता नभएपछि दलितहरुले आन्दोलन गरे । त्यसपछि मीन विश्वकर्मालाई सहभागी गराइयो । तर उनले गाईलाई राष्ट्रिय जनावर कायमै राखिनु पर्ने कुरा अन्तरिम संविधानमा उल्लेख गर्नुपर्छ भनी सम्पूण नेपाली र दलित समुदायको भावनालाई कुठाराघात गरे ।

निवर्तमान अन्तरिम विधायिका संसदमा पनि दलित समुदायका १८ जना विधायकहरु थिए । कहिले जनजाति आन्दोलनका कारण त कहिले मधेशी आन्दोलनका कारण नेपालको अन्तरिम संविधान-२०६३ तीन पटकसम्म संशोधन भयो । जनजाती आन्दोलनका कारण अन्तरिम संविधानको तेस्रो संशोधन मार्फ जनजातिहरुले प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुन नसकेका आदिवासी/जनजातीका जातीहरुलाई मन्त्रीपरिषद्बाट मनोनित गरिने २६ जनाको सिटबाट अनिवार्य प्रतिनिधित्व गराउने व्यसस्था तत्कालिन सरकारले ग-यो । जसको फलस्वरुप २६ जना मध्येबाट १० जना सभासद् जनजातीका छुटेका जातीहरुबाट छनौट गरिने पम्का भएको छ । जनजातिहरुले यसरी चलाखी गरिरहदा दलित विधायकहरुले यसको भेउ पाएनन् वा मुक दर्शक भएर बसेकाछन् ।

संविधानसभाको समानुपातिक प्रणाली मार्फ चुनिने कुल ३३५ सिटको २० प्रतिशतभन्दा कम सूची पेश गर्ने दलहरुले समानुपातिकको सिद्धान्त लागु गर्नु नपर्ने प्रवधान थियो । पछि मधेश आन्दोलनको दवाबमा यसको प्रतिशत बढाएर ३० पु-याइयो । यो प्रवधानले दलित सभासद् संख्यालाई घटाउने निश्चित थियो । तर यसमा पनि तत्कालिन दलित विधायकहरुले कुनै क्रिया, प्रतिक्रिया वा चासो देखाएनन् । मात्र मुक दर्शक भएर बसे । यी र यस्ता खाले प्रवृत्तिगत घटनाहरु, जसले दलित समुदायमाथि खेलवाड गर्छ, नव निर्वाचित प्रतिनिधिहरुले पनि नदोहो-याउलान् भन्न सकिदैन । त्यसैले सचेत दलित समुदायले यो संविधान निर्माण प्रक्रिया चलिरहदा खबरदारी र दवाबका लागि र्सतर्कताका साथ बस्नु पर्ने देखिन्छ ।

जातिगत रुपमा हेर्ने हो भन, राष्ट्रिय दलित आयोगले सूचिकृत गरे अनुसार, दलितहरुको २२ जाती देखिन्छन्, जसमा संविधानसभामा वादी, गर्न्धर्व, मुसहर, डुम, कुचे, महरा लगाएत ८/९ जातिको प्रत्यक्ष वा समानुपातिक दुवै प्रणाली मार्फ प्रतिनिधित्व हुन सकेको छैन् । अहिले मन्त्रीपरिषद्ले मनोनित गर्ने भनेको २६ जनाको भागभण्डा चलिरहेको छ । संविधानसभामा मुसहर र डुम जातिको प्रतिनिधित्व नगरिएको भन्दै सप्तरीको राजविराजमा सदाय संघ, डोम उत्थान समाज र राउत मेहत्तर समाजको नेतृत्वमा दलित समुदायले जेष्ठ ६ र ७ गते -याली, कोणसभा र पर््रदर्शन गरे । २६ जना मध्येबाट प्रतिनिधित्व गर्राईनु पर्ने उनीहरुको माग छ ।

दलित नागरिक आन्दोलनले छुटेका दलित जातिहरुको प्रतिनिधित्व मन्त्रीपरिषद्ले मनोनित गर्न बाँकी रहेको २६ सीटबाट गराइयोस् भन्ने माग राखी यही जेठ २ गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिई प्रधानमन्त्री तथा प्रमुख दलहरुलाई ज्ञापनपत्र बुझायो । त्यसै गरी गर्न्धव सँस्कृति कला संगठनले पनि प्रधानमन्त्री र प्रमुख दलहरुलाई ज्ञापनपत्र बुझाई साँस्कृतिक कार्यक्रमसहित बालुवाटार र सिंहदरबारमा धर्ना दिए । संविधानसभामा २६ जना मनोनित गर्ने प्रावधान अन्तरगत दलितको १३ प्रतिशत अनिवार्य प्रतिनिधित्वको लागि पहल गर्ने भनी राष्ट्रिय दलित आयोतले प्रेश विज्ञप्ति जारी गरेको छ । राष्ट्रिय वादी अधिकार सर्घष समिति र नेपाल सरकारबीच भएको संझौता पुरा भएको छैन ।

यी यावत् मुद्धाहरुलाई उठान गर्न तथा कार्यान्वयन गराउन वर्तमान अवस्थामा पनि दलित जनसमुदाय आन्दोलित भईरहेको छ । तर यी सर्न्दर्भहरुमा दलित मुक्ति आन्दोलनको अगुवाई गर्ने संघ, संगठन तथा नेताहरु भने आन्दोलनबाट पुरै विमुख छन् । एक खालको संर्घष्ा अझै जारी रहदा प्रमुख दलित राजनीतिक संगठनहरु तथा डलरवादी संस्थाहरु भने रमिते पारामा चुपचाम बसिरहेका छन् । उनीहरु बीचमा नवनिर्वाचित सभासद्लाई अभिनन्दन गर्ने होड चलिरहेको छ । एक दिनमा पाँचओटासम्म अभिनन्दनका कार्यक्रमहरु राखिन्छ । यस्तो लाग्छ कि ४९ जना सभासद् भएपछि दलित मुक्ति आन्दोलन पुरा भयो र अब उनीहरुले नै मुक्ति दिलाउछन् ।

तर हामी दलित समुदाय र आन्दोलनका हिमायतीहरुले आन्दोलनबाट बिश्राम लिने बेला भएको छैन । हाम्रो मुक्ति हुन अझै धैरै संर्घषहरु गर्न बाँकी नै छन् । यतिबेला झन् दबाब र खबरदारीको आन्दोलन आवश्यक छ । देशको मुल कानुन संविधानमा दलितका सवालहरु जबरजस्त लेखाउनु पर्छ । यो महत्वपूण अवधिमा हाम्रो भुमिका कमजोर भयो भने हामी फेरिपनि पछि पर्र्छौ । त्यसैले पनि एकिकृत दलित आन्दोलन जारी राख्न जरुरी छ ।

राम नेपाली
अध्यक्ष
नेपाल स्वतन्त्र दलित विद्यार्थी संगठन
जेठ १७ गते, २०६५

Posted under Perspectives / Analysis, Organizations Bay on Sunday 1 June 2008 at 2:03 am

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.