मुक्तक: नसोध मलाई
-रत्नबहादुर बिश्वकर्मा
न्यूयोर्क, अमेरिका
नसोध मलाई घर कहाँ हो भनी
मलाई भन्नै लाज लाग्छ,
किनकि अठारौं शताब्दी जस्तो लाग्ने मुलुकबाट आएको छु
नसोध मलाई देशको हालचाल के छ भनी
म बयान गर्नै सक्दिँन,
किनकि हत्या, हिंसा र आतंकमा चुर्लम्म डुवेको छ
नसोध मलाई कुन जात हो भनी
मेरा ओठहरु लर्बराउन थाल्छन्,
किनकि त्यही हेपिएको कथित अछूत हुँ
नसोध मलाई कति पढेको छ भनी
म केही बोल्नै सक्दिँन,
किनकि डिग्री खल्तीमा राखी मजदूरी गर्दैछु
नसोध मलाई समाजको स्थिति के छ भनी
म मुर्छित बन्न सक्छु,
किनकि मेरो समाज कुरीति र कुसंस्कृतिको बाहक छ
यो त बिदेश हो भनी नसुनाऊ मलाई
म त अनुभव गर्नै सक्दिँन,
किनकि आफ्नै देशवासीहरुबाट अछूती भई पीडित छु ।