अब दलित पनि पुजारी बन्ने बेला भएन त ?

“यदि साँच्चै हामीले सामाजिक न्यायसहितको समतामूलक र समावेशी नेपाल चाहेका हौं भने अब पशुपतिनाथ वा अन्त कतैको मन्दिरमा कुनै जात वा समुदाय विशेषको नेपालीले मात्रै होइन, मापदण्ड पुग्ने सबै समुदायको नेपालीले पुजारी हुन पाउनु पर्दछ। यदि उसँग त्यो काम गर्नको लागि योग्यता, क्षमता, शीप र कौशल छ भने किन नपाउने ? हो, अब मुसहर र सार्कीको छोरोमा पनि आवश्यक योग्यता भएमा र उचित मापदण्ड पुगेको खण्डमा ऊ पनि पुजारी हुन पाउनु पर्दछ।”

-उत्तमबाबु श्रेष्ठ-

जनसरोकारका कामहरु थाति राखेर राजाहरुको नाममा राखिएको चौबाटो, नगरपालिका र राजमार्गहरुको नाम फेर्दै तथाकथित क्रान्तिकारिता देखाउँदै आएको माओवादी नेतृत्वको सरकारले अहिले भने साँच्चिकै एउटा क्रान्तिकारी काम गरेको छ -पशुपतिनाथको पुजारीमा दुई जना नेपालीलाई नियुक्ति गरेर। यद्यपि यस घटनाको विरोध हुन थालिसकेको छ। यति ठूलो दूरगामी महत्त्वको निर्णय हुँदा पुजारी नियुक्ति कसरी गरियो, कस्ता व्यक्ति पुजारी बन्न पाउने जस्ता पक्षलाई पारदर्शी नबनाई ठाडो नियुक्ति गरेको जस्तो देखिनु पक्कै राम्रो हैन। यसमा सरकार चुकेकै हो। तर वास्तवमा यो एउटा क्रान्तिकारी कदम हो। यो एकातिर राष्ट्रिय स्वाभिमानसँग जोडिएको छ भने अर्कातिर, यसको सांस्कृतिक र सामाजिक महत्व पनि छ। त्यसकारण देख्दा सामान्य लाग्ने एउटा मन्दिरको पुजारी नयाँ नियुक्ति गरिएको वा फेरिएको यस घटनाले राष्ट्रिय रुपमा मात्रै होइन अन्तराष्ट्रिय संचार माध्यमहरुमा निकै चर्चा पाइरहेको छ। विशेष गरेर भारतीय संचार माध्यम र नेपालमा पनि भारतीय लगानीको भनिएका सञ्चार संस्थाहरु र भारतसँग नाम जोडिएका केही पत्रकारहरुले परम्पराको आड लिएर यस घटनाको तातोमा आफ्नो भारतभक्तिको रोटी सेक्ने जमर्को गरिरहेका छन्। त्यसकारण यस घटनाको बहस हुन आवश्यक छ। वास्तवमा यो घटना यसकारण पनि स्वागतयोग्य छ कि यसले हाम्रो प्रख्यात मन्दिरमा भारतीय पुजारी हुने बीचमा आएको परम्परालाई तोड्दै आफ्नै देशको नागरिक पुजारी हुँदै आएको पुरानै परम्परालाई पुनः स्थापित गरिदिएको छ।

विश्व सम्पदा सूचिमा समेत शामेल भएको हिन्दूहरुको एउटा पवित्र तीर्थस्थलका रुपमा रहेको नेपाली मन्दिरमा परम्पराको नाममा गैर नेपाली नागरिक त्यसको पुजारी हुनु एउटा दुःखद कुरा हो। ती गैर नेपाली पुजारीले नेपाली भक्तजनहरुलाई बेवास्ता गरी गाँठवाल भारतीय भक्तजनहरुलाई मात्र सेवा गरेको तीतो अनुभव धेरैसित छ। त्यसकारण त्यो पक्ष आफैमा राष्ट्रिय स्वाभिमानसँग जोडिएको प्रश्न पनि हो। यसै सर्न्दभमा इण्डियन आइडलको प्रसंग यहाँ जोड्न चाहन्छु। एउटा नेपाली जाती (नेपालीलाई जाती पनि भनिन्छ) भारतीय नागरिक प्रशान्त तामाङले एउटा भारतीय प्रतियोगिता इण्डियन आइडल-३ जित्दा नेपाल र नेपालीको आत्मासम्मान बढ्यो भनेर खुबै मसीहरु रित्तिए अजब नेपालमा। मेलै नेपाली आत्मसम्मान त्यसरी बढ्दैन भनेर यसै ब्लगमा लेख्दा खानसम्म गाली पनि खाएँ। अहिले त्यो आत्मसम्मान बढेर कहाँ पुग्यो त ? कसैसँग त्यसको उत्तर छैन तर अहिले फेरि इण्डियन आइडल-४ मा छानिएका भारतीय सेनाका नेपाली प्रतिस्पर्धी कपिल थापालाई जिताउन नेपाली छापाहरुमा रंगिन थालिसकेको छ। केही समयपछि काठमाडौंको गल्लीमा उनलाई एसएमएस गर्नको लागि चन्दा उठ्न थाल्यो भने पनि अनौठो नमाने हुन्छ। तर नेपाली मूलका भारतीयहरुले लगातार इण्डियन आइडलको त्यो पगरी जित्ला भनेर भारतमा भने ठूलो औडाहा भइरहेको छ यतिखेर। डिसेम्वर ५, २००८ को टाइम्स अफ इण्डियाको अनलाइन अंकमा के नेपालले इण्डियन आइडल खोस्दैछ (’इज नेपाल हाइज्याकिंग इन्डियन आइडल’) भनेर छापिएको लेखले त्यस्तै छनक दिन्छ। नेपालीले भारतको प्रतियोगितामा भोट हालेर कसैलाई जिताउन बल पुर्‍याएको प्रसङ्ग उल्लेख गर्दै लेखमा भनिएको छ के इण्डियन आइडलको निर्णय नेपालीहरुले गर्ने हो ? यदि नेपालमा हुने त्यस्ता प्रतियोगिताहरुमा भारतीय पक्षबाट त्यसरी नै लादिएको निर्णय गरियो भने त्यो नेपाललाई सह्य हुन्छ ?

वास्तवमा त्यो लेखमा भारतीय पक्ष आयोजकलाई र नेपालीहरुलाई गरेको त्यो प्रश्न सही पनि होला साथै उनीहरुलाई डर पनि होला कतै नेपालीले उक्त प्रतियोगिता जित्‍ने परम्परा नबनोस् भनेर। तर आज उनै संचार माध्यमहरु लेख्दैछन्- भारतीय पुजारीलाई हटाउनु परम्परासंगत कार्य होइन भनेर। ती भारतीय संचार माध्यमहरुसँग नेपाली केही सञ्चार माध्याम र लेखकहरु हो मा हो मिलाइरहेका छन्। अब प्रश्न उठ्छ आफ्नै देशको नागरिक भलै त्यो नेपाली मूलको किन नहोस्, ले आफ्नै मुलुकभित्रको एउटा प्रतियोगिता जित्दा भारतीयहरुलाई त्यत्रो चिन्ता हुन्छ भने अब हामीले पनि परम्पराको नाममा गैर नेपालीलाई राष्ट्रको आराध्य देवताको मन्दिरमा पुजारी बनाइरहनु आवश्यक छ त ? सच्चा नेपालीले आज आफैसँग सोध्नु पर्ने प्रश्न हो यो। अझ त्यो परम्परा स्थापित हुनुअघि त नेपाली पुजारी नै हुने परम्परा पनि त थियो नि। दक्षिण भारतका भट्ट पुजारी बनाउने प्रचलन त विक्रम संवत् १८०४ अर्थात् २६१ वर्षअघिदेखि न हो। यद्यपि सरकारले गरेको त्यो नियुक्ति कानुनी प्रकृया नपुर्‍याइकन गरिएको हो भने सच्याइनु पर्दछ। तर भारतका पुजारी बनाउनलाई हैन, अब नेपाली नै पशुपतिनाथको पुजारी हुनु पर्दछ।

दोश्रो, यो एउटा सांस्कृतिक र सामाजिक परिवर्तनको लागि खोलिएको ढोका पनि हो। परम्पराको आडमा गरिने भेदभावको अन्तको शुरुवात पनि हो। यसै सर्न्दभमा अर्को प्रसंग पनि जोड्न मन लाग्यो, पृथ्वीनारायण शाहलाई कीर्तिपुरको लडाईँमा जिताउन मद्दत गर्ने ऐतिहासिक पात्र हुन् बिसे नगर्ची। गोरखामा पृथ्वीनारायण शाहको दरबार जहाँ कालिका र गोरखनाथको मन्दिर छ, केही समय अघिसम्म परम्पराको नाममा त्यो मन्दिरमा दलित समुदायलाई पस्न दिँइदैन थियो। कस्तो विडम्बना, तिनै बिसे नगर्चीका सन्तानहरु जसका रगत पसिनाको एक एक थोपाले त्यो दरबारको इट्टा बनेको छ, छत छाइएको छ ती मानिसहरुलाई त्यस मन्दिरभित्र प्रवेश निषेध छ। परम्पराको नाममा गरिएको यो भन्दा पाखण्डपूर्ण व्यवहार के हुन सक्छ ? केही समय अघि मात्रै दलितहरु उक्त मन्दिरमा जबरजस्ती छिरे र त्यो परम्परालाई तोडे। हो, यस्ता पाखण्डपूर्ण परम्परालाई हामीले तोड्नै पर्दछ। यो नै त्यसको लागि उचित समय हो। त्यसकारण जुन महानुभावहरुले परम्पराको आड लिएर यस घटनाको विरोध गरिरहनुभएको छ तिनीहरुलाई मेरो प्रश्न, कुनै बेला काठमाडौँको नरदेवी लगायत नेपालका केही मन्दिरहरुमा नरबलि दिइने चलन पनि थियो, त्यो पछि हटाइयो। परम्पराको नाममा दिइने नरबलिको त्यो परम्परा हटाउनु गलत थियो त ? त्यसकारण यस्ता गलत परम्पराको फेरो समातेर समावेशी, सामाजिक न्याययुक्त नयाँ नेपाल संभव छैन। नयाँ नेपालको जग हाल्न लागेको यो बेलामा यस्ता कथित कुरुप परम्पराहरुमाथि जोडदार मुक्का हान्नै पर्दछ र नयाँ सुसंस्कृत परम्परा बसाल्नै पर्दछ।

अन्त्यमा, राजतन्त्र नेपालमा भइन्जेल राजा पशुपति क्षेत्र विकास कोषको संरक्षक हुने परम्परा थियो। आज प्रधानमन्त्री हुने अवस्था आएको छ। त्यसकारण समय धेरै बदलिसकेको छ। टाउको अर्थात् संरक्षक फेर्न हुने, हातको औँला अर्थात् पुजारी फेर्न नहुने तर्क जिद्दी मात्रै हो। यदि साँच्चै हामीले सामाजिक न्यायसहितको समतामूलक र समावेशी नेपाल चाहेका हौं भने अब पशुपतिनाथ वा अन्त कतैको मन्दिरमा कुनै जात वा समुदाय विशेषको नेपालीले मात्रै होइन, मापदण्ड पुग्ने सबै समुदायको नेपालीले पुजारी हुन पाउनु पर्दछ। यदि उसँग त्यो काम गर्नको लागि योग्यता, क्षमता, शीप र कौशल छ भने किन नपाउने ? हो, अब मुसहर र सार्कीको छोरोमा पनि आवश्यक योग्यता भएमा र उचित मापदण्ड पुगेको खण्डमा ऊ पनि पुजारी हुन पाउनु पर्दछ। जसरी एउटा दलितको छोराले एमबीबीएस गरेर डाक्टर, बीई गरेर इन्जिनियर वा स्नातक भएर हाकिम वा जनताको मत जितेर प्रधानमन्त्री हुने सपना देख्न पाँउछ, त्यसरी नै तोकिएको मापदण्ड पुर्‍याएर उसले कुनै मन्दिरको पुजारी हुने सपना पनि देख्न पाउनु पर्दछ। सार्कीकै छोरा वा मुसहरकी छोरी भएको नाताले उसले पशुपतिनाथको वा अन्य देवालयको पुजारी हुन नपाउने भन्ने भेदभावपूर्ण स्थितिको अन्त्य हुनै पर्दछ। कतिपय मित्रहरुलाई यो निकै र्‍याडिकल कुरा जस्तो पनि लाग्ला तर जातको आधारमा, भाषा, लिंग क्षेत्र वर्ग, वर्णको आधारमा हुने भेदभावमुक्त नेपाल नै साँचो अर्थको नयाँ नेपाल हो।

Source: mysansar.com

Posted under Perspectives / Analysis on Wednesday 31 December 2008 at 12:59 am

2 Comments »

  1. Comment by Bimal Gadal — December 31, 2008 @ 9:13 am

    Dear Uttam jee,
    Namaste and congratulation for your wonderful article!

    I am impressed a lot with your ability to articulate in such a beautiful manner and in a right time. Present Nepal is looking for such changes. I had told you in our informal meeting at Harvard University that we cannot wait for another hundred years to see the change. But, I am still wondered with present Nepalese mindset and polluted blood with feudal thoughts and Hinduism. We have to understand that Nepal’s great political changes is not to continue existing norms and practices those were and are killing humanity in the name of culture, religion, caste, race, and whatever it is. Nepal cannot experience change without smashing certain cultural institutions, which is producing inequality, poverty and family and social unrest.

    In fact, one has to clearly understand that Dalits are the real nationalist in Nepal and they are such disciplined and laborious groups who are providing services to millions of people in Nepal though they are treated inhumanly in every sphere of their life. Nepal’s Dalits have maintained the same level of commitments and they have sacrificed their lives to establish democracy and peace in Nepal as they did in the past. But, society and state is not realizing the fact. Even in Maoist People’s War and Jana Andolan-II, Dalits were the main actors making the movement success though the leadership was hijacked by the Brahmins (we can go further details in this aspect).

    Therefore, if Dalits’ vulnerabilities could not be addressed legally, people are in risks those are seeing the Dalit from their feudal eyes and Hindu mindset. Whatever International Politics and ideology is, Dalits want their liberation, want to be treated as human being as other so -called non-Dalits, and want to test the real freedom in their lives. Therefore, your effort to bring my concern in Nepalese changed context is highly appreciated.

    Congratulation again for your wonderful article!

    I salute your ability and contribution! Please keep up the same spirit!

    Sincerely,
    Bimal Gadal

  2. Comment by RKS — January 1, 2009 @ 12:35 am

    Dear Uttam Shrestha,
    Thank you for writing this article. Your vision for new Nepal is on the right track. I believe that the discrimination based on caste, color, background or race has a lot to do with our religion and culture. Therefore, we have to attack this system from all possible directions. We have to clean it up inside out. And, the only way to do so would be to involve the government to mandate such change. Government of Nepal is the only institute that has the capabilities to eradicate this age old system or tradition from our motherland. The debate you have raised here is timely in the present ever changing Nepal. Hopefully, it will direct the policy makers’ priorities in a right direction. Once again, thank you for your opinion. Keep up the good work.
    HAPPY NEW YEAR!!
    RKS

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.