दृष्टिकोण: बाँदरलाई पगरी !

मुहानै फोहोर भएपछि पानी कसरी सफा बहन सक्छ ? अब बिमलाले पढाएका विद्यार्थी पनि अरूलाई बोक्सी भन्दै अपमान गर्दै हिँड्ने त होइनन् ?

2009-06-29,Monday

ललितपुर, प्युटारकी प्राध्यानाध्यापिका विमला लामाले शिक्षितपनको नमुना पेस गरिन्, कल्लीकुमारी विकलाई बोक्सीको आरोपमा दिसा खुवाएर । सुनेकी थिएँ, यस्तो कूकर्मको फलस्वरूप उनले गाउँ छाड्नुपरेको थियो, जागिरबाटै हात धुनुपरेको थियो । तर, कल्लीकुमारीमाथि अपमान गर्ने लामालाई गाउँमा सम्मान गरियो र शिक्षिकाकै रूपमा काममा फर्काइयो भन्ने खबरले मनमा थुप्रै प्रश्न उठायो ।

मुहानै फोहोर भएपछि पानी कसरी सफा बहन सक्छ ? अब बिमलाले पढाएका विद्यार्थी पनि अरूलाई बोक्सी भन्दै अपमान गर्दै हिँड्ने त होइनन् ?
पहिलो प्रश्न प्युटारवासीकै व्यवहारमाथि उठ्यो : के अब विद्यार्थीले उनीबाट गरिब महिला बोक्सी ठहर्‍याउने ज्ञान र बोक्सीलाई बकाउने पाठ सिक्ने भए ? कानुनी सजाय भोग्ने क्रममा तारेखमा मुद्दा खेपिरहेकी व्यक्तिले सुन्दर भविष्य बोकेका बालबालिकालाई के शिक्षा देलिन् ? मुहानै फोहोर भएपछि पानी कसरी सफा बग्न सक्छ ? अब उनले पढाएका विद्यार्थीले अरूलाई बोक्सी भन्दै अपमान गर्दै हिँड्ने त होइन ?

जिल्ला शिक्षा कार्यालय, ललितपुरसँग पनि प्रश्न उठेको छ, सभ्यता सिकाउने वा शिक्षा दिने शिक्षा-नीति र उनको व्यवहार कहाँनेर मेल खान्छ ? मेल खान्छ भने भोलिदेखि नै जिल्लाभरिका सबै विद्यालयमा बोक्सीको आरोपमा दिसा खुवाउने, जातीय आधारमा भेदभाव गर्ने, घरेलु हिंसामा संलग्नका लागि र हिंस्रक पुरुषहरूका लागि छुट्टै आवेदन खोलेर शिक्षक नियुक्ति गर्न सुरु गरे हुने हो कि ? तपाईंको शिक्षा-नीतिले मान्छेलाई मान्छे बन्न सिकाउँछ कि ढुंगे युगमा फर्काउन ?

मानवअधिकारवादी र महिलावादीका व्यवहारबारे प्रश्न उठेको छ, तिनका आँखा पनि गरिब र दलित महिलाका पक्षमा किन नखुलेको होला ? ठूला होटलमा महिला हिंसासम्बन्धी गोष्ठी चलाइरहँदा पोखरामा विश्वकर्मा महिला बोक्सीको आरोपमा गाउँबाट निकालिँदा, अन्तरजातीय विवाहका कारण कतिपय महिलाले यातना भोगिरहँदा पनि तिनले आफ्नो कित्ता छुट्याउन सकेनन्, किन ? कल्लीकुमारी न्यायका लागि गल्ली-गल्ली रुँदै हिँड्दा तिनका हातले आसुँ पुछ्न सकेनन् । उनी कुनै नेताकी श्रीमती भइदिएका भए उनको न्यायका लागि कत्ति फिट माथि उफ्रिएको दृश्य देखिन्थ्यो होला ।

विमला गाउँमा सम्मानित हुँदा थुप्रै कल्लीकुमारजस्ता थुप्रै दलित, गरिब र महिलामा अपमानित भए, जसले धेरै अपराधीको मनोबल बढाएको छ । यस्ता अपमानजक घटनामा जनताका नाममा राजनीति गर्ने राजनीतिकर्मीको भूमिका पनि प्र्रश्नको घेरामा परेको छ । अभियुक्तका काका कपिल लामा यो घटनालाई राजनीतिकरण गर्न निकै लागिपरेका थिए, जो नेपाली कांग्रेसका जिल्ला उपसभापति र नेपाली कांग्रेसको तामाङ जातीय मोर्चाका अध्यक्ष पनि हुन् । यो घटनालाई राजनीतिकरण गर्ने क्रममा अपराधलाई राजनीतिक रंग दिने र अपराधीलाई संरक्षण दिने काम गरिएको अवस्थामा सम्बन्धित पार्टी-नेतृत्वले यस विषयमा जवाफ दिनुपर्छ ।
अरू विषयमा निकै छिटो प्रतिक्रिया दिने नेपाली कांग्रेस र अन्य राजनीति दलले पनि यस विषयमा विशेष चासो देखाएका छैनन् । कल्लीकुमारी आफ्नो पार्टीकी कार्यकर्ता नभएकीले होला, नेकपा एमाले पनि यसमा मौन छ । जनयुद्धमा दलित महिलाको योगदानको प्रशंसा गरी नथाक्ने प्रचण्ड नेतृत्वको सरकारले पनि अपराधीलाई कारबाही गर्न सकेन ।

राजनीतिक संरक्षणका कारण प्रहरीले अझै अन्य दोषीलाई पक्राउ गर्न सकेको छैन । अतः सवाल उठेको छ, के नयाँ नेपाल भनेको दण्डहीनताको नेपाल हो ? के अपराधीलाई संरक्षण गर्ने कानुन बनाउन नै दलहरूलाई संविधानसभाको निर्वाचनमा जनताले निर्वाचित गराएका हुन् ? यो घटनामा विमलालाई पुनः सम्मान गरिनु र दलहरूले चाहिँ निरीह भएर टुलुटुलु हेरिरहनुले नयाँ नेपाल ‘नयाँ बोतलमा पुरानै रक्सी’ हुने खतरा बढेको छ । राजनीतिक दलहरूले चाहेको नयाँ नेपाल त्यही पुरानै नेपाल हो भने बाँदरलाई पगरी गुथाउने र अपराधीलाई सम्मान गर्दै हिँड्ने कार्यक्रम तय गरे कसो होला ?

Source: Nayapatrika.com


Source link provided by:

Biru Nepali
Producer-Katwal Radio Patrika
Jagaran Media Center
e-mail:biru. palpali@gmail. com,
mobile no.9841-595008
Website: www.jagaranmedia. org.np

Posted under Perspectives / Analysis on Tuesday 30 June 2009 at 8:10 am

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.