दलन: एउटा अलग सपना
Excerpts from Naya Patrika Daily, published on December 06, 2008.
The story is about the Dalan TV serial, which was producted by Jagaran Media Center and broadcast by Nepal TV.
मध्यपृष्ठ
दलन: एउटा अलग सपना
2008-12-06, Saturday
बिस्तारै चराले चिठी बोकेर आउँछ । लाग्छ, त्यसमा ठूलै सन्देश छ । पन्चेबाजाका सहयोगी बाजा नगरा र नर्सिंगा बज्छन्, मानौँ शुभकार्यको थालनी भयो । यसपछि दुईतिर सेतो र बीचमा रातो अक्षरमा हातले लेखिए जस्तै तीन अक्षर देखा पर्छन् । यसपछि मादलको ताल मिसिएर संगीत सुरु हुन्छ । यो सांगीतिक धुनसँगै आगोको ज्वालाभित्र चित्रहरू चलमलाउँछन् । यी चित्रहरू चलमलाउँदा लाग्छ, प्लेटोले परिकल्पना गरेको मानिसको गुफाको संसार यही हो । जहाँ मानिसहरू वर्षौंदेखि ठूलो पहाडको गुफामा छन्, अलिकति उज्यालो छिर्छ र चित्रहरू चलमलाउँछन् । मानिसहरू त्यही अँध्यारो गुफालाई साँचो संसार ठानेर बाँचेका छन् । त्यस्तै गरी कोही घन पिट्दै, कोही सारंगी बजाउँदै र लुगा सिलाउँदै गरेका चित्रहरूसँगै सुरु हुन्छ दृश्यमाथिको संगीत बयान ।
माथि-माथि अरूहरू, तल म छु छाँया एक्लै,
जन्म उस्तै, मृत्यु उस्तै, बाँच्नुपर्ने ढंग बेग्लै
मान्छेभन्दा मान्छे सानो, क्रूर कस्तो चलन
यो दलन, यो दलन, यो दलन !
शुभबहादुर सुनामले सिर्जना गरेको सुमधुर लयमा साहित्यकार श्रवण मुकारुङका यी शब्दसँगै नेपाल टेलिभिजनको पर्दामा प्रत्येक आइतबार बेलुका आठ पचास बजे प्रसारण सुरु हुन्छ, नेपाली टेलिशृंखला दलन । जागरण मिडिया सेन्टरको प्रस्तुतिमा आहूतिको लेखन र नवीन सुब्बाको निर्देशनमा दलन तयार भएको हो । नेपाली टेलिभिजनको इतिहासमा मात्र होइन, नेपाली समाजको चलचित्रको इतिहासमा नै यसले नयाँ उचाइ कायम गर्दै अगाडि बढिरहेको छ, दलन । विनातर्क तथा नेपाली समाजका यथार्थभन्दा पृथक् दृश्यहरू थुपारेर ‘ड्याङडुङ’ र ‘झ्याङझुङ’का साथै भारतीय सिरियलका फोटोकपीवाला नेपाल टेलिभिजनका सिरियललाई पछार्दै कसौटी जिन्दगी की र कुमकुमका दर्शकलाई पनि आकर्षण गर्न सफल भइरहेको छ दलन ।
नेपाली सिरियल मात्र होइन, नेपाली चलचित्रको परम्परागत प्रवृत्तिमाथि पनि औँला ठड्याएको छ यसले । यसले कायम गरेको उचाइ मापनको एउटा नमुना हो, टेलिशृंखलाबाट प्रभावित भएर बनेका दलन-क्लबहरू । यसले दलनको प्रभाव र लोकपि्रयता झल्काइरहेको छ । मुलुकमा संविधानसभाको निर्वाचनपछि नयाँ संविधान निर्माणको क्रम यतिवेला चलिरहेको छ । नयाँ नेपालको सामाजिक विसंगतिविरुद्ध तथा सामाजिक रूपान्तरणका पक्षमा त दलन नमुनाकै रूपमा स्थापित हुन सकेको छ भने नेपाली चलचित्रको विषय र प्रस्तुतिमा समेत चलचित्रकर्मी, समीक्षक र दर्शकलाई यसले घोत्लिन बाध्य पारेको छ भन्दा अन्यथा हुनेछैन । सहरदेखि गाउँ, बालकदेखि वृद्ध-वृद्धा, बौद्धिकदेखि सर्वसाधारण, राजनीतिज्ञदेखि कार्यकर्तासम्मको मनमा बस्न दलन टेलिशृंखला सफल भएको छ । के छ त दलनमा त्यस्तो ? किन दर्शकलाई बाँध्न सफल भयो ? के नेपाली चलचित्रका दर्शकले खोजेका चलचित्रहरू यस्तै हुन् ? वा नयाँ नेपालको चलचित्रको स्वरूप र शैली कस्तो हुने ? यी विषयमा जति छलफल र बहस हुनुपथ्र्यो त्यो भएको कतै सुनिएको छैन । दलनको छोटो समीक्षासँगै यस विषयमा एकछिन घोत्लिउ“m ।
***
अहिलेसम्म प्रसारण भएका भागहरू हेर्दा नेपाली समाजको यथार्थ चित्रण गर्न कुनै कसुर बाँकी राखेको छैन । यही यथार्थ प्रतिविम्बका क्रममा कतिपय दृश्यमा निकै जोसिला शब्द पनि प्रयोग भएका छन् । तर, ती शब्दहरू प्रगोग गर्दा निर्देशकले तरिका पुर्याएका छन् । दर्शकलाई शब्दको पछि होइन, भावनात्मकतातर्फ मोड्ने काम गरिएको छ ।
नेपाली सिरियलको सुरुवात लामो दूरीबाट खिचिएको डाँडापखा र गाउँको दृश्यबाट हुन्थ्यो । नेपाली चलचित्रको हालत पनि यस्तै छ । तर, दलनले यो परम्परागत सुरुवातलाई भत्काउँदै कालो पहाडी घोडाको टापबाट सुरु गरेको छ । यसपछि, घोडा छाँटेर हिँडेका जिम्वाल र उसको अर्दलीको दृश्य सुरु हुन्छ । यहीँदेखि दर्शकमा कौतुहल जाग्छ । गाउँका कट्टर बाहुनका छोरा हरिहरको त्यही गाउँकी टुल्की दमिनीसँग प्रेम हुन्छ । टुल्की दुई जीउकी भएपछि यो भेद समाजका अगाडि खुल्दै जान्छ । बाहुनको छोराले दमिनीलाई पेट बोकाएकाले कुलको मानहानी हुने कुरा गाउँका पञ्च-भलाद्मी भनाउँदाले गर्छन् । यसबाट पन्छाउन हरिहर नेपाललाई बनारस पठाउने र टुल्की दमिनीलाई लाटो किनेर विवाह गरिदिने प्रपञ्च रचिन्छ । लाटोसँग जानुभन्दा आत्महत्याको बाटो टुल्कीले रोज्छे । तर, भाग्यवश बाँच्न सफल हुन्छे । उता बनारस हिँडेको हरिहर टुल्कीको मायाले आधा बाटोबाटै फर्किन्छ । दुवैको भीरमा भेट हुन्छ । यी दुवै नछुट्टिने भएपछि सजायका लागि ठिंग्रोमा हालिन्छ । गाउँमा पण्डित खलकको इज्जत बचाउनका लागि चारपाटा मुडेर सँुगुरको पाठो बोकाउँदै कहिल्यै त्यो गाउँ र्फकन नपाउने गरी भेरीखोला कटाइन्छ ।
***
यसरी २००७ सालको माघ महिनामा भेरीको सेरोफेरोबाट कथा सुरु हुन्छ । भेरी कटाइएको त्यो जोडी बाग्लुङ-पर्वतको सरोफरोमा आग्पुग्छ । कथा यहीँ आएर अगाडि बढेको छ । यसको कथा काठमाडौंसम्मको रहको भए पनि यो सामग्री तयार पारुन्जेल गाउँमै छ । २००७ सालको परिवर्तन हुनुभन्दा केही दिनअगाडिको समय, भेरीवरपरको स्थान र विषय वस्तुसँगको परिचय सुरुवातदेखि नै मज्जाले गरिएको छ । सबल नाटक, उपन्यास, कथा, र चलचित्रको भाषामा भन्ने हो भने दलनको सेटिङदेखि नै राम्ररी बुनिएको छ । यहीँदेखि दर्शकलाई बाँध्न सफल हुन्छ । त्यस कालक्रमको जिम्वाल, तालुकदारदेखि त्यतिखेरको मान्छेले प्रयोग गर्ने सामग्रीलाई लोभलाग्दो पाराले प्रयोग गरिएको छ । भेरीखोला कटाएपछि तरेको डुंगाको दृश्यले झन् दर्शकलाई त्यही कालमा पुर्याउन सफल भएको छ ।
सात सालदेखिको समय परिवर्तन हुँदै जाँदा प्रयोग गरिने सामग्रीदेखि लुगा पनि परिवर्तन हँुदै गएको देखाएको छ । जिम्वाल, जनजाति र दलितबीचको अन्तर कपडाबाट पनि प्रस्ट हुन्छन् । त्यो बुझाउनका लागि संवादै-संवादको थुप्रो पेस गरिएको छैन । धेरै कुरामा दृश्य आफैं बोल्छन् । कालक्रमअनुसारको संस्कृति र चाडपर्वहरू पनि राम्ररी रचिएका छन् । जिम्वालका दुई छोराको सानै उमेरमा भएको जोरविवाह, जिम्वालको घरमा दसैँमा टीका लगाउन आउने मान्छेको ताँती, सत्यनारायणका पूजा र छेओरजस्ता पक्षलाई पनि उनेको छ । लगौँटीदेखि पाइन्ट, कोराको भोटोदेखि सर्ट, हातले सिलाएको जुत्तादेखि आधुनिक जुत्ता पनि देख्न पाइन्छ यसमा । टोपीलाई मात्र याद गरियो भने इतिहासको फेहरिस्त नै छ भन्दा हुन्छ । घरको बनोटदेखि प्राकृतिक सौन्दर्यमा काखैमा हिमाल, गाउँका डाँडा-पाखा, वनजंगल, गोरेटा र बारीका पाटा तथा खेतका गह्राहरू राम्ररी चित्रित भएका छन् । भेरीमा देखिएको कालो घोडा, जिम्वालको रातो घोडा र सेतो घोडाले निर्माण मूल्य -प्रोडक्सन भ्यालु) बढाएको छ ।
***
२००७ आएको प्रजातन्त्र, ०१६ सालको बिर्ता उन्मूलन, ०१७ सालको राजा महेन्द्रको ‘कू’, ०२० सालको मुलुकी ऐन, २१ सालको भूमिसुधार, पञ्चायती शासन, गाउँर्फक अभियान, ०३६ सालको जनमत-संग्रह, गाउँ-गाउँ पुगेको आधुनिक शिक्षा जस्ता महत्त्वपूर्ण घटनाक्रमलाई पनि दृश्य दस्ताबेजका रूपमा उतारेको छ । जनमत-संग्रहमा बहुदलको पराजयपछि निर्दलीय शासन व्यवस्थाले बोकेको चरित्र र त्यसपछिको मानिसको राजनीतिक चेतनालाई लिएर टेलिशृंखला अगाडि बढ्दै अहिले २०४६ सालको परिवर्तनको वरिपरि आइपुगेको छ । साथै, यसमा नेपाली समाजको विकासक्रम राजनीतिक, समाजशास्त्रीय, शासकीय कोणबाट पनि प्रस्ट्याइएको छ । नेपाल टेलिभिजनको पर्दामा अझै यस्ता राजनीतिक घटनक्रमहरू पनि उठ्दै जानेछन् ।
जस्तो शासनव्यवस्था उस्तै पात्रहरू यसमा देखिएका छन् । पहिलो पुस्ताको जिम्वाल जो प्रजातान्त्रिक कालदेखि पञ्चायतअघिसम्म देखा पर्छ । ऊ घुमाउरो पाराले अन्याय गरे पनि अलि उदार देखिन्छ । तमसुकमा चढाएरै भए पनि ऋण दिने, केही गर्छु भन्नेलाई गर्न दिने स्वभावको देखिन्छ । पहिलो पुस्ताको जिम्वालबाट सत्ता हस्तान्तरण भएपछि छोराले चलाउने सत्ता जति पञ्चायत छिप्पिँदै गयो उति दलितहरूको हुर्मत काढ्दै जान्छ । दलित तथा जनजातिको सामाजिक र राजनीतिक चेतनामा पनि समय क्रमसँगै विकसित भएको देखाइएको छ । कथित ठूलाबडाबाट गाउँले जनजीवन त्यसमाथि पनि दलितलाई गरिँदै आएको शोषणलाई राम्ररी उधिनिएको छ । दलनमा देखाइएको अन्याय र अत्याचारलाई देख्दा लाग्छ, हाम्रो मुलुक नर्कमा नै छ । गाउँमा भोग्दै आएको जीवनलाई टपक्क टिपेर पस्किएको छ । चलचित्र हेर्दा लाग्छ, यो दृश्य कैद गरिएको नभई हामी नेपाली समाजलाई हेरिरहेका छौँ ।
प्रत्येक दृश्यले चलचित्रको भाषा बोलेका छन् । क्यामेराको चाल र कोण, कलाकारका क्रियाकलाप, सट साइज र मौन दृश्यहरू आफैं बोलेका छन् । समाजमा दबाइएका पात्रहरू जो दलित जीवनमा बाँचेका छन् तिनलाई देखाउँदा क्यामेरा माथिल्लो कोणमा राखिएको छ र पात्रहरू तलतिर देखिन्छन् जसले दबाइएको अर्थ दिन्छ । कथित ठूला-ठालूका लागि तल्ला कोणमा क्यामेरा रहेर माथिपट्टिबाट खिचिएको छ यसले ठालूहरू सधैं माथि छन् भन्ने कुराको संकेत गर्छ । निर्देशक नवीन सुब्बाले नुमाफुङपछिको आफ्नो निर्देशकीय क्षमता मजाले देखाएका छन् । विनातर्क कुनै सट वा दृश्य देखा पर्दैनन् । सट साइज र सट टेकिङ पनि जीवन्त लाग्छन् । यस अर्थमा कि, त्यति साँघुरा गाउँले घरमा पनि क्यामेरा मुभमेन्ट देखिन्छ । यसमा छायाकार सिद्धार्थ शाक्य र मोहन शाहको खुबी पनि देखिएको छ ।
सुरुवातमा कथाले छिटो फड्को मारेको भएर निकै घोरिएर हेर्नुपरे पनि पछिल्लो समयमा सरल बनेको छ । पात्र छनोटमा अनुप बरालको कास्टिङ निर्देशकको भूमिका अब्बल देख्न सकिन्छ । गाउँका ब्राह्मणको छोरा हरिहरको भूमिकामा भूषण पोखरेलको अभिनयले धेरैको भावनामा तरंग पैदा गरिदिन्छ । दलनको छायांकनदेखि कतार एयरलाइन्समा जागिर खाएकी टुल्की वविता शर्मालाई सुरुमा गाउँकै पात्रजस्तो अलि कम देखिए पनि अन्य दृश्यले त्यसलाई भुलाएको छ । पहिलो पुस्ताका जिम्वाल देशभक्त खनाललगायत धेरै कलाकारको भूमिकामा खोट लगाउने ठाउँ देखिँदैन । कालीको भूमिकामा दिया मास्केको, जुठेमा अनुप बरालको अभिनयले झन् शृंखलालाई जीवन्त बनाउँछ । दर्शकले कहिल्यै नर्बिसिने कलाकारका रूपमा स्थापित भएका छन् धम्बरेको भूमिकामा देखिएका प्रकाश घिमिरे । स्थानीय कलाकार, जो क्यामेराका अगाडि कहिल्यै परेका थिएनन्, उनको अभिनय क्षमताले पनि दलनलाई जीवन्त बनाएको छ । यी अनुहार देख्दा लाग्छ, यी साँच्चिकै चलचित्र शिल्पी हुन् । मनमा जिम्वाल, रछ्याने, माने, ठूली, माइली, कटुवाल, होमबहादुर, मीतज्यू, सतमान, धम्मरे, गौलेड, मास्टरबाजस्ता भूमिकामा जो-जसले अभिनय गरेका छन्, तिनले अभिनयको राम्रो पाठ सिकाएका छन् ।
साहित्यकार आहूतिको लेखन नेपाली चलचित्र साहित्यमा एउटा कोसेढुंगा साबित गराउने दौडमा दौडिरहेको छ । नेपाली समाजमा रहेको विभेदकारी सांस्कृतिक मान्यता, त्यसको उपज र न्यायपूर्ण संघर्षका स्वरूपहरू टेलिशृंखलामा देखाइएका छन् । सामाजिक जीवनका यथार्थ विम्ब कथामा प्रस्तुत गरिएको छ, जसले सिलसिला र यथार्थलाई तोडेर जथाभावी कथा प्रस्तुत गर्ने परम्परालाई समेत तोडिदिएको छ । सांस्कृतिक संगीतकार शुभबहादुर सुनामको संगीतले कथ्य र चलचित्रको भाषालाई नेपाली शैलीमा बगाएको छ । समग्रमा सबै समूहको चलचित्रमा पकड देखिएको छ, जसले गर्दा चलचित्रको बनोट राम्रो भएको छ ।
अहिलेसम्म प्रसारण भएका भागहरू हेर्दा नेपाली समाजको यथार्थ चित्रण गर्न कुनै कसुर बाँकी राखेको छैन । यही यथार्थ प्रतिविम्बका क्रममा कतिपय दृश्यमा निकै जोसिला शब्द पनि प्रयोग भएका छन् । तर, ती शब्दहरू प्रगोग गर्दा निर्देशकले तरिका पुर्याएका छन् । दर्शकलाई शब्दको पछि होइन, भावनात्मकतातर्फ मोडिदिन्छ । जसले दृश्यमा ऊर्जा थपेको छ । जीवन्त अभिनय, मौलिक संगीत, दृश्य संरचना, क्यामेरा मुभमेन्ट, क्यामेरा कोण, ध्वनिजस्ता चलचित्रको भाषाका साथै कलाको त्यस्तो योग छ, जसले दर्शकको संवेग र बुद्धिमाथि कार्य गर्छ र गौरव र आनन्दको भावना जागृत गराउने समाथ्र्य प्रदान गर्छ । यसैबाट मान्छेलाई आन्दोलित पनि बनाउँछ । यसरी हेर्दा यसले नेपाली दर्शकमा नयाँ चलचित्र सौन्दर्य निर्माणको बाटामा लम्केको देखिन्छ ।
सन् १९५० को अन्त्य र ६० को पूर्वार्द्धमा फ्रान्समा नयाँ तरंग चलचित्र आन्दोलन चल्यो । परम्परागत शैलीमा निर्माण हुने चलचित्रलाई चुनौती दिँदै जन लुक गोदार्डलगायतका समूहले पुराना पुस्तालाई यसरी सम्बोधन गरे- ‘तिम्रा क्यामेरा चाल कुरूप र खत्तम छ, किनकि, तिम्रा विषय नै खराब छन् । तिम्रा कलाकारले खराब अभिनय गर्छन्, किनकि संवाद ज्यादै कमजोर र शब्दमा छन् । र, तिमीहरूलाई चलचित्र कसरी रचना गर्ने भन्ने नै थाहा छैन किनकि तिमीहरूलाई चलचित्र भन्ने नै थाहा छैन ।’
इटलीको नव यथार्थवादी आन्दोलनले पनि संसारभरि चलचित्रको शैली र स्वरूपलाई बदलिदियो र विश्वव्यापी पहिचान कायम गर्यो । नव यथार्थवादीले सेटमा छायांकन गर्ने परम्परालाई तोड्दै कथ्यको मागअनुसारको यथार्थ स्थानमा छायांकन गर्ने संस्कृतिको विकास गरे । व्यावसायिकभन्दा कहिल्यै पर्दामा नदेखिएका कलाकारबाट चलचित्र बनाउन थाले । नव यथार्थवादी चलचित्रकर्मीले परम्परागत चलचित्र निर्माणलाई विस्थापित गरेर नयाँ उचाइ कायम गर्यो । आज पनि नव यथार्थवादी धारका चलचित्रहरू कालजयी बनेर रहेका छन् ।
विशेष गरी फ्रान्स, इटली र जर्मनीका युवा चलचित्रकर्मीले नयाँ शैली र स्वरूपको खोजीमा चलाएको चलचित्र आन्दोलनलाई संसारभरि पढिन्छ । अझै पनि यी आन्दोलनताका बनेका चलचित्रहरू नहेरी धरै पाइन्न । यस्तै चलचित्र आन्दोलनको नेपालमा पनि खाँचो भएको छ । यो आन्दोलनको थालनी दलनले गरेको छ ।
Courtesy: Suvash Darnal, Jagaran Media Center.
________________________________________
Naya Patrika: दलन: एउटा अलग सपना (2008-12-06, Saturday)
